२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

तीन दिनदेखि सीमापारि बगरमा बसाेबास

शुक्रबार १४, चैत २०७६ ०९:२९

तीन दिनदेखि सीमापारि बगरमा बसाेबास
दार्चुला सदरमुकाम खलंगा पारि भारततिर महाकाली नदी किनारमा बसिरहेका नेपाली । तस्बिर : विशेष खबर

दार्चुला– कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न नेपाल–भारत दुबैतिर सीमा नाका बन्द भएपछि भारतमा काम गर्ने नेपाली कामदार बिचल्लीमा परेका छन् । 

दुवै देश लकडाउन हुँदा भारतका विभिन्न ठाउँबाट स्वदेश फर्कन लागेका नेपाली कामदारहरु तीन दिनदेखि महाकाली किनारमा बसिरहेका छन् । 

ज्याला मजदुरी गरेर घर फर्किन लागेका नेपाली कामदारहरुको सीमा नाकामा बिचल्ली भएको हो । नया वर्षका लागि घर फर्किन लागेका नेपाली कामदारहरु सीमा नाकाहरु बन्द भएपछि कोही महाकाली नदी किनारमा बसिरहेका छन् भने केहीले ओडारमा बस्न बाध्य भएको बताएका छन् । 

भारतको पिथौरागढ जिल्लाको कालिकास्थित ओडारमा एक रात कटाएको पुल खुलेपछि नेपाल जाने पाईने आशले बुधबारदेखि पुलघाटको पारि बसिरहेको नौगाडका देवसिह ठगुन्नाले बताए । 

भारतमा समेत लकडाउनको घोषणा गरिएकाले होटेल बन्द भएकाले बास पाउन समस्या भएपछि ओडारमा बस्नु परेको उनले बताए । 

दार्चुलाको नौगाड, मार्र्मा गाउपालिका, शैल्यशिखर नगरपालिका लगायत अन्य जिल्लाका गरी १५० जना भन्दा बढी नेपाली नाका खुल्ने आशामा बगर र ओडारमा बसिरहेका छन । 

धारचुलाका स्थानीय राकेशसिह तिवारीका अनुसार बुधबारदेखि धारचुलामा नौगाड गाउपालिका, शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, बर्दिया जिल्लाका, कैलाली, बझाङ, बैतडी जिल्लालगायतका नेपाली सीमामा अलपत्र परेका हुन्। बुधबारदेखि भोकै रहेका उनीहरुलाई बिहीबार भारतीय प्रहरीले दिउँसो खाना दिएको थियाे ।  

एक साताको लकडाउन सकिने पर्खाइमा बसेकाहरु भारतको तीन साता लकडाउनले झन् निराश बनेका छन । उनीहरुले भारतीय बजारमा खाद्यन्न समेत पाइरहेका छैनन् । बिहीबार दिउँसो भारतीय सुरक्षाकर्मीले खाना दिएको उनले बताए । 
मंगलबार मात्रै भारतको विभिन्न ठाउहरुबाट आएका एक सय ३८ जना नेपाली कामदारलाई राति गृह मन्त्रालयको आदेशमा नेपाल प्रवेश गराएको थियो । 

यसैगरी, भारतबाट फर्किन लागेका दुई सय जना नेपाली बैतडीकाे सीमानाका झुलाघाटमा अलपत्र परेका छन् ।  भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको उनीहरूले बताएका छन् । लकडाउनका कारण होटल बन्द रहेकोले तीन दिनदेखि भोकै बाहिरै सुत्ने गरेकाे बताएका छन् ।  


#सीमा

प्रतिकृया दिनुहोस