२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

चमाेलीकाे बाढीमा मृत्यु भएकामध्ये १० नेपालीको पहिचान

बुधबार २८, माघ २०७७ ०७:१८

चमाेलीकाे बाढीमा मृत्यु भएकामध्ये १० नेपालीको पहिचान

काठमाडौं । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आईतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको पहिचान खुलेको छ । 

हिमनदी विस्फोटपछि धौलीगंगा र आलकन्दा सहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय वासिन्दा बेपत्ता भएका थिए । 

उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार मृतक कामदार कालीकोट र जुम्लाका छन् । मृतकमा नरेन्द्र बहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर सिंह, मकर सिंह, मदन सिंह र रमेश नेपाली रहेका छन् ।

घटनामा ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।

हराइरहेका नेपालीहरूमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात ऋषिगंगा जलविद्युत् परियोजनामा र एक जना रैनी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने कैलालीको टीकापुरका सोहन चौधरीको मात्र ठेगाना खुलाइएको छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरूको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नभएकाले थप नेपालीहरू बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।

उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । अलकनन्दा हिमाली क्षेत्रमा हिमपहिरोका कारण हिमनदीमा विस्फोट भएको आशंका गरिए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । 


#बाढीपहिराे

प्रतिकृया दिनुहोस