२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

४२ वर्षपछि मर्मत हुदैँ फेवातालको बाँध

- रासस आइतबार २५, माघ २०७७ ०४:४२

४२ वर्षपछि मर्मत हुदैँ फेवातालको बाँध
फाइल तस्बिर ।

पाेखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि  मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि  पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो ।

शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसघंको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो ।

 '२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सघंले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।' डिभिजन कार्यलय प्रमुख किरण आचार्यले भने ।

उनका अनुसार ताल सिँचाइ प्रणालीका लागि दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५.७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।  

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनको भनाइ छ । 
 


#फेवाताल

प्रतिकृया दिनुहोस