२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने

- विशेष खबर मङ्गलबार २०, माघ २०७७ ०२:५६

अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।

सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो सम्मेलन आयोजना गरेर बाइडेन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो समय देखिएको निरंकुश र पपुलिष्ट राजनीतिले अमेरिकी प्रजातन्त्रको मूल्य र मान्यतामाथि आक्रमण गरेको बाइडेन प्रशासनको बुझाइ रहेको छ ।

यति मात्र होइन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकहरुले क्यापिटल हिलमा नै आक्रमण गरेपछि धेरैले यसलाई विश्व प्रजातन्त्रमाथिको आक्रमणको रुपमा विश्लेषण गरेका थिए ।

यस अगाडि चुनावी अभियानकै समयमा पनि बाइडेनले आफूले जितेमा सो सम्मेलन आयोजना गर्ने बताएका थिए । पछिल्लो समयमा संसारभरी नै निर्वाचन मार्फत आएका शासकहरुले नै प्रजातन्त्रको मूल्य र मान्यतामाथि धावा बोलिरहेका छन् ।

अमेरिकाले आयोजना गर्ने सम्मेलन मुख्यत ४ विषयमा केन्द्रित रहने छ । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष गर्ने, निरंकुश शासकको विपक्षमा उभिने, चुनावी सुरक्षाको ग्यारेन्टी गर्ने र विश्वभर मानव अधिकारको अवस्थालाई सुदृढ बनाउने विषयमा छलफल गर्ने योजना छ ।

सो सम्मेलनमा नागरिक समाजका विभिन्न संस्थाहरुको सहभागित हुनेछ । त्यसैगरी सम्मेलन मार्फत कर्पाेरेट क्षेत्र, सोसल मिडिया कम्पनी लगायतका संस्थाहरुलाई प्रजातान्त्रिक मूल्य मान्यता, अभिव्यक्ति स्वतन्त्रता लगायका विषयहरु प्रवर्द्धन गर्नका लागि आग्रह गरिने छ । राष्ट्रपतिको रुपमा कार्यभार सम्हाले लगत्तै बाइडेनले संसारभर प्रजातान्त्रिक प्रणालीको रक्षा आफ्नो एक प्रमुख एजेण्डा बनाएका छन् ।


#अमेरिका

प्रतिकृया दिनुहोस