२०८१ बैशाख ०५ गते बुधबार | 17 April, 2024

कक्षा १२ को परिक्षाफल आज प्रकाशित हुने

- विशेष खबर सोमबार १९, माघ २०७७ ०९:४०

कक्षा १२ को परिक्षाफल आज प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार बिहान १० बजेपछि बोर्डको बैठक डाकिएको छ ।

वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन संक्षिप्त परीक्षा लिएर १ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसअघि १ हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो ।

कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ । एसईईमा पनि विद्यालयहरूले विद्यार्थीलाई मनोमानी अंक दिएको पाइएको थियो । अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई उच्च जीपीए प्राप्त हुने गरी नम्बर दिएका थिए ।


#राष्ट्रिय परीक्षा बोर्ड

प्रतिकृया दिनुहोस