२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने

- विशेष खबर आइतबार १८, माघ २०७७ ०९:०२

चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने

काठमाडौं । दक्षिणी छिमेकी भारतपछि अब उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने भएको हो ।                                                                   नेपाली मिडियालाई आइतबार प्रतिक्रिया  दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।


चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेको समेत दूतावासले दाबी गरेको छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिईसकेको दाबी पनि दूतावासले गरेको छ ।

दूतावासका अनुसार उक्त खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको छ र यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तान लगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपतकालिन प्रयोग अनुमति प्राप्त गरिसकेको छ । लुआनले चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपको विकास भएसँगै विश्वलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नै नेपालको आग्रहमा चीनले खोप उपलब्ध गराउन लागेको बताए ।

यस्तै, खोप प्रयोगका लागि आवश्यक अनुमति प्राप्त गर्नका लागि दूतावास आफैंले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको पनि दूतावासले बताएको छ ।

औषधि व्यवस्था विभागले हालसम्म केवल भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई मात्रै ससर्त आपतकालिन प्रयोग अनुमति दिएको छ ।

विभागले अनुमति दिएसँगै भारतले नेपाललाई करिव दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।


#कोरोना खोप #चीन

प्रतिकृया दिनुहोस