२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

ऐतिहासिक दरबार हाइस्कुलमा पाँच वर्षपछि पठनपाठन

- रासस आइतबार १८, माघ २०७७ ०२:५९

ऐतिहासिक दरबार हाइस्कुलमा पाँच वर्षपछि पठनपाठन

काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि  शिक्षक र विद्यार्थीको भौतिक सहभागितामै पठनपाठन सुरु गरिएको हो । 

भूकम्पले पूर्ण रूपमा क्षति भएको विद्यालय भवन पुनर्निर्माणको काम गत फागुनमै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई हस्तान्तरण हुन सकेको थिएन ।

पुनर्निर्माण सकिएको नौ महिनापछि गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट भवन उद्घाटन गरिएको थियो ।

कोरोनाकै कारण लामो समय यहाँका विद्यार्थी–शिक्षकले पनि अनलाइन माध्यमबाट घरबाटनै पठनपाठन अघि बढाएका थिए । एक साताअघि कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान वज्राचार्यले जानकारी दिए ।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्न सिट क्षमता बढाएको छ । पुनर्निर्माणपछि विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा थप छ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

भवन आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनर्निर्माण भए पनि यसको स्वरूप पहिलेको जस्तै देखिन्छ । नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ । यसमा ६० वटा कक्षाकोठा छन् । दरबार हाइस्कुल हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरेको हो । भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुईवटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । रू. ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

भवन भत्किएपछि प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठको परिसरमा अस्थायी टहरा निर्माण गरी कक्षा सञ्चालन गरिएको थियो । तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि त्यहाँ सर्वसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था भएको हो ।


#दरबार हाइस्कुल #रानीपोखरी

प्रतिकृया दिनुहोस