२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बेलायत हुँदै जाने हवाई उडान र यात्रुमाथि लगाइएको प्रतिबन्ध फुकुवा

- विशेष खबर शुक्रबार १६, माघ २०७७ ०३:३१

बेलायत हुँदै जाने हवाई उडान र यात्रुमाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडाैं । नेपाल सरकारले बेलायत हुँदै जाने हवाई उडान र यात्रुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपाली दूतावास लन्डनले बिहीबार बेलायत (संयुक्त अधिराज्य), आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुले आवश्यक सर्तसहित उडान गर्न पाउने जनाएको छ ।

नेपाल सरकारले बिहीबार तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइनसम्बन्धी आदेश, २०७७’ जारी गरेको थियो ।

दूतावासले यात्रा प्रतिबन्ध फुकुवा भए पनि बेलायतबाट नेपाल जाने यात्रुहरुले विभिन्न सर्त भने पूरा गरेको हुनुपर्ने बताएको छ । यात्रा गर्नुअघि ७२ घण्टाभित्र प्रयोगशालामा परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट, यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा बस्न क्वारेन्टाइनका लागि अनिवार्य रुपमा बुक गरेको प्रमाण साथमा हुनुपर्नेछ । होटल बुकिङको खर्च सम्बन्धितले बेहोर्नु पर्नेछ ।

साथै, यात्रापूर्व आफ्नो यात्राबारेको विवरण लन्डनस्थित नेपाली दूतावासलाई पठाउनुपर्नेछ । त्यस्तै, नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्ने नयाँ नियममा छ ।

नेपाल सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि डिसेम्बर तेस्रो सातादेखि बेलायत लगायत मुलुकबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । सम्बन्धित वायु सेवाले चेक-इन गर्दा अनिवार्य रुपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने जनाउँदै दूतावासले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नुपर्ने र बुकिङ खर्च सम्बन्धितले बेहोर्नु पर्ने जनाएको छ ।


# बेलायत #प्रतिबन्ध

प्रतिकृया दिनुहोस