२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ बाँडफाँड हुँदै

- विशेष खबर शुक्रबार १६, माघ २०७७ ०९:४५

इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ बाँडफाँड हुँदै

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार (आज) बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक एनआइबिएलएस क्यापिटलका अनुसार शुक्रबार बाँडफाँड गर्नेगरी नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेको थियाे। 

बैंकको आइपिओमा कुल १५ लाख ५० हजारले १८ करोड ३४ लाख कित्ता सेयर माग्दै आवेदन दिएका थिए। बैंकले सर्वसाधारणलाई जम्मा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गर्नेछ। 

आवेदन दिएको संख्यालाई आधार बनाउँदा ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन् । आवेदन दिएकामध्ये केही संख्या रद्द हुन सक्नेछ। कतिपयले न्यूनतम १० कित्ताका लागि पनि आवेदन दिएका हुन्छन्। तसर्थ अधिकांशले ५० कित्ता सेयर पाउने छन्।

यदि रद्द हुने संख्या धेरै हुन गएमा केहीले ६० कित्तासम्म सेयर पाउन सक्नेछन्। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ। 

अहिले नै कतिपय लगानीकर्तामा बजार मूल्य कस्तो होला भन्ने  खुल्दुली समेत बढेको छ।  कम्पनीको वित्तीय स्थितिअनुसार नै दोस्रो बजारले मूल्य तय गर्दछ। कम्पनीको वित्तीय स्थिति त्यति बलियो भइसकेको छैन। जसले गर्दा बजारमा तत्कालै मूल्य धेरै नबढ्ने अनुमान गर्न सकिन्छ।  

यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो। यसले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ ।

आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ। पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
 


#इन्फ्रास्ट्रक्टर बैंक #आइपिओ

प्रतिकृया दिनुहोस