- विशेष खबर बुधबार १४, माघ २०७७ १०:३९
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।
अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ ।
उनीसँगै डा. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोना खाेप लगाएका छन् । यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ ।
काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।
प्रतिकृया दिनुहोस