२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

बाइडेनले सम्हाले अमेरिकी सत्ता

एजेन्सी बिहिबार ०८, माघ २०७७ ०९:०३

बाइडेनले सम्हाले अमेरिकी सत्ता
ह्‍वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन तस्बिर : रोयटर्स

वासिङ्टन । अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् ।

७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथ गराएका थिए ।

बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी थिइन् । एसियाली मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित पहिलो महिला हुन् । क्यापिटल हिलमा आयोजित समारोहमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लू बुस तथा बिल क्लिन्टन पूर्वप्रथम महिलाहरू सहित उपस्थित थिए । शपथग्रहण समारोहमा बाइडेनले आफ्ना अग्रजहरूलाई उपस्थित भएकामा धन्यवाद दिए ।

‘यो लोकतन्त्रको उत्सव हो । यो इतिहास र आशाको दिन हो,’ उनले भने । आफ्नो कार्यकालमा जनचाहनाको सदैव कदर हुने बाइडेनले बताए । अमेरिकाले सामना गरिरहेको अभूतपूर्व चुनौती हटाउन सबै अमेरिकी एक हुनसमेत बाइडेनले आग्रह गरे ।

यसपटक बाहिरिँदै गरेका डोनाल्ड ट्रम्प र नयाँ राष्ट्रपति बाइडेनबीचको तिक्ततापूर्ण सम्बन्ध असाधारण बन्यो । चुनावी पराजय अस्वीकार गरेका ट्रम्प बाइडेनको शपथग्रहण समारोहमा उपस्थित भएनन् । यसअघि डेमोक्रेट राष्ट्रपति एन्ड्र्यु जनसनले सन् १८६९ मा नयाँ राष्ट्रपति युलिसेस एस ग्रान्टलाई स्वागत गरेका थिएनन् । ग्रान्टले जनसनलाई हटाउन समर्थन जनाएकाले त्यसलाई सामान्य ठानिएको थियो ।

बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमै निवर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने बाइडेनको टोलीले जनाएको छ । बाइडेनले अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । उनले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने काम पनि रोक्ने भएका छन् ।

ट्रम्पले मुस्लिम देशहरूबाट अमेरिकामा यात्रा गर्न लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै कोरोना भाइरसका कारण उत्पन्न संकटका बेला विद्यार्थीलाई गरेको निष्कासन तथा ऋण भुक्तानीसम्बन्धी निर्णयसमेत बाइडेनले परिवर्तन गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले निर्वाचनका बेला नै प्रतिबद्धता गरेकामध्ये केही महत्त्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका जनाइएको छ । उनको टोलीका अनुसार सय दिनभित्रै

बृहत् आप्रवासी योजना पनि पेस गर्ने बताएका छन् । चुनावी अभियानका बेला बाइडेनले अघि सारेको आप्रवासी योजनाले अमेरिकामा रहेका लाखौं विदेशीले बिनाकागजात नागरिकता पाउने बाटो खुल्नेछ । बाइडेनले कोरोना राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि अघि बढाउने बताइएको छ ।

ह्‍वाइटहाउसमा राष्ट्रपति जो बाइडेन फस्ट लेडी जिल बाइडेनसँग र उपराष्ट्रपति कमला ह्यारिस सेकेन्ड जेन्टलम्यान डोग एमफसँग तस्बिर : रोयटर्स

युरोपेली संघ (ईयू) ले बाइडेनको कार्यकालको स्वागत गरेको छ । युरोपेली आयोगकी प्रमुख उर्सॅला भोन डर लियनले बाइडेनको कार्यकालको सुरुवातलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानीको संज्ञा दिएकी छन् । ‘अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम् विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली संघ तयार छ,’ उनले भनिन् ।

उनले कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्वव्यापी साझेदारी आवश्यक रहेकामा जोड दिइन् । उनले जलवायु परिवर्तनसँग जुध्नका लागि गरिएको पेरिस सम्झौतामा फर्कने बाइडेनको निर्णयको प्रशंसा गरेकी छन् । जर्मनीका राष्ट्रपतिले पनि बाइडेनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति मिलेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उपराष्ट्रपति कमला ह्यारिस तस्बिर : रोयटर्स

ट्रम्प प्रशासन पूर्ण रूपमा विस्थापित भएको छ । कर्मचारीका डेस्क खाली पारिएका छन् । कोठा सफा गरिएको छ । राजनीतिक नियुक्ति पाएका बाइडेन प्रशासनका सदस्यले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हालेका छन् ।

ह्वाइटहाउसका पश्चिमतर्फका कार्यालयहरू खाली गरिएको छ । यो निकै पुरानो परम्परा पनि हो । बाइडेनले कार्यभार सम्हालेसँगै ट्रम्प प्रशासनका करिब ४ हजार कर्मचारी जागिरबाट बिदा भएका छन् । यी पदमा बाइडेनले कर्मचारी नियुक्त गर्नेछन् । त्यसका लागि महिनौं वा वर्ष दिनसम्म पनि लाग्नेछ ।


प्रतिकृया दिनुहोस