२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बिदाइ कार्यक्रममा ट्रम्पले भने : ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

- विशेष खबर बुधबार ०७, माघ २०७७ १०:२०

बिदाइ कार्यक्रममा ट्रम्पले भने : ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका छन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ । 

सम्बोधनका क्रममा ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरे । ‘तपाईंहरुले चुनेअनुसार मैले कठिन लडाइँ र कठिन द्वन्द्वको सामना गरेँ,’ ट्रम्पले सम्बोधनका क्रममा भने ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई ट्रम्पले अहिलेसम्म पूर्ण रुपमा स्वीकार गरेका छैनन् । नेपाली समयअनुसार बुधबार राति जो बाइडेन र कमला ह्यारिसले अमेरिकाको आगामी राष्ट्रपति र उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् ।

केही दिनअघि ट्रम्प समर्थकले अमेरिकी संसद् भवनमा मच्चाएको हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । ट्रम्पको उक्साहटमा उक्त हिंसा मच्चिएको आरोप लागेको थियो । पछि ट्रम्पले उक्त हिंसात्मक प्रदर्शनको आलोचना गरेका थिए । बिदाइ सम्बोधनका क्रममा पनि उनले हिंसात्मक प्रदर्शन स्वीकार्य नभएको बताएका छन् । ‘राजनीतिक हिंसा अमेरिकी गौरवमाथिको आक्रमण हो, यो कदापि स्वीकार्य छैन,’ ट्रम्पले भने ।

संसद् भवनमा भएको हिंसामा ट्रम्पकै हात रहेको भन्दै अमेरिकी संसद्मा अविश्वास प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा दुई पटक अविश्वास प्रस्तावको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । पहिलो पटक उनलाई चुनाव जित्न युक्रेनसँग साँठगाँठ गरेको आरोपसहित महाभियोग दर्ता भएको थियो । तर त्यो प्रस्ताव अमेरिकी संसद्को माथिल्लो सदन सिनेटबाट अस्वीकृत भएको थियो । महाभियोग प्रस्ताव पारितका लागि १०० सदस्यीय सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।

करिब २० मिनेटको सम्बोधनमा ट्म्पले आफ्नो कार्यकालको उपलब्धि, अमेरिकी नीति, विदेश नीति र आफ्नो विरासतबारे पनि टिप्पणी गरेका छन् । उनले सम्बोधनका क्रममा भने, ‘बुधबार मैले नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पिँदैछु । हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ भनेर तपाईंहरुले बुझ्नुहुनेछ भन्ने म चाहन्छु ।’

त्यस्तै ट्रम्पले आफूहरुले वाचा गरेभन्दा धेरै काम गरेको उल्लेख गर्दै भने, ‘हामी जे गर्न भनेर आएका थियौँ, हामीले त्योभन्दा अझ बढी काम गऱ्यौँ ।’

आफूहरुले अमेरिकी सरकार जनताप्रति पूर्ण जवाफदेही हुन्न भन्ने मान्यतालाई पुन:स्थापित गरेको पनि ट्रमपको दाबी थियो । त्यस्तै उनले बाइडेनको नाम नलिइकन उनको टिमलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् । ट्रम्पले भने, ‘आगामी प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न बनाइराखोस् भन्न हामी कामना गर्छौँ ।’ उनले सम्बोधनमा अगाडि भने, ‘हामी उनीहरुलाई शुभकामना दिन्छौं, त्यसका साथै हामी उनीहरुका लागि पनि भाग्यले साथ देओस् भन्ने चाहन्छौँ ।’

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले अमेरिकी समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाड्नेछन् ।


#डोनाल्ड ट्रम्प

प्रतिकृया दिनुहोस