- विशेष खबर शुक्रबार ०२, माघ २०७७ ०४:२९
काठमाडौं । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ ।
नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी गराए । यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो ।
बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।
विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनसाय राख्ने उत्पादक वा आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपत्कालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको गरिएको थियो ।
कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।
विभागका सूचना अधिकारी केसीका अनुसार हालसम्म ३ वटा आयातकर्ताहरुले आवदेन दिएका थिए । केसीले भने,‘निवेदन दिएकामध्ये २ जनाको आवश्यक कागजातहरु पुगेको छैन, उनीहरुलाई प्रक्रिया पुर्याउन भनिएको छ । हाललाई भने ‘कोभिसिल्ड’ खोप ल्याउनका लागि अनुमति दिएका छौं ।'
प्रतिकृया दिनुहोस