२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिककी कार्यकारी अधिकृत रेग्मी पक्राउ

- विशेष खबर मङ्गलबार २८, पुष २०७७ ११:२९

प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिककी कार्यकारी अधिकृत रेग्मी पक्राउ

काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । 'कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ । दुवै जनाविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ,' एसएसपी सिंहले भने,'सुवास अहिले स्याङ्जामा छन् । अब मुद्दाको अदालतले मुद्दाको फैसला गर्छ ।'

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि 'प्रणय' एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेल बताउँछन् । 'मैले एल्बम बीचबीचमा पनि माग्दै आएको थिएँ । तर कहिले समय नमिल्ने कहिले के नमिल्ने भयो । तर ७ महिनाअगाडि उहाँलाई भेटेरै एल्बमको सम्झौता सकियो, अब हिसाबकिताब गर्नुपर्‍यो भन्दा उहाँले फेसबुकमा मलाई गिराएर स्टाटस लेख्न थाल्नुभयो,' खरेलले भने,'मिलेर अगाडि जाउँ भनेर छलफलको धेरै प्रयास गरें । उहाँले एल्बम दिने कुरा गर्नुभएन । फेसबुकमा लगातार गाली गर्नुभयो । त्यसैले बाध्य भएर कानुनी बाटो रोजें ।'

प्रमोदका अनुसार २०७१ सालमै एल्बमको सम्झौता सकिएको हो । यसबीच कम्पनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाएको आरोपसहित १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दियो । आफूले लगानी गरेको म्युजिक ट्र्याक प्रयोग गरेर ११ वर्ष खरेलले करोडौं कमाएको भन्ने दाबी गर्दै आएका थिए सञ्चालक रेग्मी । 'मैले गायक प्रमोद खरेलसँग, स्रस्टाको सिर्जना र प्रोड्युसरको ट्रयाक, बिनाअनुमति प्रयोग गर्दै प्रतिलिपि अधिकार ऐनले तोकेको प्रस्तोताको अधिकारको क्षेत्राधिकार बाहिर गई मनग्य आर्थिक लाभ लिँदै, प्रतिलिपि अधिकारका धनी रहेका अन्य पक्षलाई अन्याय गरेको भनेर १ करोडको क्षतिपूर्ति माग दाबी गरेको हूँ,' रेग्मीले फेसबुक स्टाटसमा लेखेका छन् ।

गायक खरेल भने गीतको सर्वाधिकार आफूसँग रहेको र प्रणयको एल्बमको निर्माता नै आफूलाई दाबी गर्छन् । 'एल्बमको प्रकाशन तथा बिक्री वितिरणको सम्झौता पाँच वर्षको हो । कम्पनीलाई दिनुपर्ने ४ लाख रकम मैले पाउने रोयल्टीबाट दिएर उहाँको लगानी सुरक्षित गरिसकेँ । मेरो रोयल्टीबाट कम्पनीले आफ्नो खर्च उठाइसक्यो ।यो एल्बमको लगानीकर्ता मै हो,' खरेलले भने । इकान्तिपुर 


प्रतिकृया दिनुहोस