२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको कंग्रेसकाे घाेषणा, सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

एजेन्सी बिहिबार २३, पुष २०७७ ०४:३५

अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको कंग्रेसकाे घाेषणा, सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो । 

बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिक सांसदका अवरोधलाई भने सिनेटले खारेज गरिदिएको छ । केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा, र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए ।

बुधबार बिहान ट्रम्प समर्थकहरुद्वारा वासिङ्टनमा हिंसा मच्चाएपछि बाइडेन र ह्यारिस विजयी भएको प्रमाणित गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले औपचारिक रुपमा प्रमाणित गर्नुपर्नेछ । बुधबार त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेपछि केहीबेर सदनको सत्र रोकिएको थियो ।

अब बाइडेन र ह्यारिसले जनवरी २० अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा रुपमा शपथ लिनेछन् ।

बुधबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् । हिंसात्मक प्रदर्शन जारी रहेकाले वासिङ्टनमा कर्फ्यु लगाइनुका साथै आगामी १५ दिनसम्म संकटकाल घोषणा गरिएको छ ।

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

आफ्नो उक्साहटमा अमेरिकी राजधानीमा हिंसा भड्किइसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गर्दै आफू ‘विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार’ रहेको बताएका छन् । नोभेम्बरमा भएको चुनावको नतिजाप्रति असन्तुष्टि हुँदा हुँदै पनि आफू जनवरी २० मा विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको ट्रम्पले बताएका छन् । ‘चुनावी नतिजाका बारेमा असहमत भए पनि जनवरी २० मा विधिपूर्वक रुपमा सत्ता हस्तान्तरण हुनेछ ।’

उनले अगाडि भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु हामीले वैध भोट मात्रै गणना होस् भनेर लडिरहनेछौं । यसले अहिले अमेरिकी राष्ट्रपतिको इतिहासमा महान पहिलो कार्यकालको अन्त्यका रुपमा प्रतिनिधित्व गर्छ । हाम्रो अभियान मेक अमेरिका ग्रेट अगेनको यो सुरुवात मात्रै हो ।’


#अमेरिकी राष्ट्रपति #अमेरिकी कंग्रेस

प्रतिकृया दिनुहोस