२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

- रासस बुधबार २२, पुष २०७७ ०८:३०

सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

काठमाडाैं । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् ।

विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो ।

नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेकि थिइन् ।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ । अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन ।

'अहिले त विद्यालय गयो/आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन', इलाम सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, 'नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।' त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ ।

एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन । पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ ।

अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउनुहुन्छ । नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको भट्टराई बताउनुहुन्छ । 'के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछाैँ', भट्टराईले भने, 'पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ ।' 

नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा सङ्काय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ । केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।

परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो ।

तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ । सामान्यतया हरेक पाठ्यक्रम १०/१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ ।

अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि ‘आघात’ पुगेको छ ।


प्रतिकृया दिनुहोस