२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

भारतका पाँच राज्यमा बर्ड फ्लुको संक्रमण

एजेन्सी मङ्गलबार २१, पुष २०७७ ०१:१३

भारतका पाँच राज्यमा बर्ड फ्लुको संक्रमण

नयाँदिल्ली । कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ ।

बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिन्छ । र मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ ।

सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटकहरुसँगै स्थानीयहरुको प्रवेशमा रोक लगाएको छ । भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले आरक्षका प्रमुख संरक्षक अर्चना शर्मालाई उद्धृत गर्दै त्यहाँ मरेका चराहरुमध्ये नब्बे प्रतिशत आप्रवासी हाँस भएको जनाएको छ । बर्सेनि लाखको हाराहारीमा हाँसको यो प्रजाति हिमालय क्षेत्र पार गर्दै मध्य एसिया, रुस, मंगोलियालगायतका क्षेत्रबाट त्यहाँ आउने गरेको समेत उक्त पत्रिकाले लेखेको छ ।

त्यसैगरी काँगडा जिल्लाका फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि मध्यप्रदेशको इन्दोरमा मरेका ५० भन्दा बढी कागहरुको परीक्षण गर्दा पनि सोही भाइरस पुष्टि भएको थियो । त्यसैगरी राजस्थान, केरल, हरियाणा विभिन्न स्थानमा पनि मृत भेटिएका चराहरुमा पनि वर्ड फ्लु पुष्टि भएको थियो । गत साता दिल्ली छेउको हरियाणाको बरवालामै एक लाखभन्दा बढी कुखुरा, हाँसलगायतका पंक्षी बर्ड फ्लुकै कारण मरेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

भाइरस पुष्टि भएपछि स्थानीय प्रशासनहरुले विभिन्न आदेश जारी गरेका छन् । त्यसैगरी केरलमा मरेका हाँसहरुमा पनि सोही भाइरसको संक्रमण देखिएको छ । त्यसपछि स्थानीय प्रशासनले कोट्टायम र अलाप्पुझा जिल्लाका प्रभावित क्षेत्रमा एक किलोमिटर भित्रका हाँस, कुखुरा र अन्य घरमा पालिउका पंक्षीहरुलाई मार्न आदेश दिइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


प्रतिकृया दिनुहोस