२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

भोलिदेखि ५० भन्दा बढी मुलुकबाट आवागमन प्रतिबन्ध

बिहिबार ०६, चैत २०७६ ११:२२

भोलिदेखि ५० भन्दा बढी मुलुकबाट आवागमन प्रतिबन्ध

काठमाडाैं– सरकारले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी ५० भन्दा बढी मुलुकबाट हुने आवागमनमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक (कुवेत, बहराइन, साउदी अरब, ओमान, कतार र यूएई), इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने विदेशी र नेपाली नागरिकका लागि वैशाख ३ सम्म आवागमनमा प्रतिबन्ध लगाएको हो ।

समितिले कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एड्भाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनीले आफैं उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने पनि निर्णय गरेको छ । उक्त कार्यको अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

सरकारले यसअघि नेपालमा आउने सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा चैत १ को मध्यरातदेखि वैशाख १८ सम्म बन्द गरेको थियो । सरकारले सुरुआतमा कोभिड–१९ बाट बढी प्रभावित भएका पाँच मुलुक (इटाली, चीन, इरान, जापान र दक्षिण कोरिया) बाट आएका पर्यटकलाई भिसामा रोक लगाएका थियो । त्यसपछि थप तीन मुलुक जर्मनी, स्पेन र फ्रान्सका पर्यटकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो ।

आवागमनमा लगाइएको प्रतिबन्धले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकले भिसा अवधिभित्र आवेदन गरे कानुनबमोजिम भिसा नियमित गरिदिने निर्णय पनि समितिले गरेको छ । यस कार्यमा गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्नेछन् ।


#कोरोना

प्रतिकृया दिनुहोस