२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

शैल्यशिखरमा नि:शुल्क मास्क वितरण

बुधबार ०५, चैत २०७६ १२:५०

शैल्यशिखरमा नि:शुल्क मास्क वितरण
नि:शुल्क मास्क वितरण गर्दै शैल्यशिखर नगरपालिका प्रमुख अमरसिंह धामी ।

दार्चुला– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउन दार्चुलाको शैल्यशिखर नगरपालिकाले निशुल्क मास्क वितरण सुरु गरेको छ ।

नगरकार्यपालिकाको निर्णय अनुसार कोरोनाबारे सचेतनाका साथै नगरक्षेत्रका बासिन्दालाई मास्क वितरण थालेको छ ।
शैल्यशिखर नगरपािलका–५ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय आगरमा पाँच सय थान मास्क निशुल्क वितरण गरिएको नगरप्रमुख अमरसिंह धामीले बताए । कोरोना भाइरसबाट जेष्ठ नागरिक, बालबालिका तथा सबै नगरबासीलाई सचेतनाका साथै मास्क वितरण अभियान सुरु गरेको नगरप्रमुख धामीले बताए ।

मास्क वितरणसँगै नगरपालिकाले कोरोनाभाइरस र यसबाट बच्ने उपाय बारे पनि जानकारी दिँइदै आएको छ । हाल बजारमा मास्क अभाव तथा सबै नागरिकले खरीद गर्न जागरुकता समेत नभएकाले नगरपालिकाले अग्रसरता लिएको हो ।

कार्यपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले कोरोनाबाट सतर्कता अपनाउन नगरप्रमुख धामीको अध्यक्षतामा ७५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा नगरसभाका सबै सदस्य, स्वास्थ्य शाखा कर्मचारीहरु सदस्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।

कोरोनाबाट बच्न शैल्यशिखर नगरको  मूख्य प्रवेशद्वार पनेबाँज र गोकुलेश्वर बजारमा हेल्थ डेक्स  समेत व्यवस्थापन गरिने भएको छ । पहिलो चरणमा नगरभरी १५ हजार मास्क वितरण गरिने  प्रशासकीय अधिकृत विष्टले बताए । ‘अहिले प्रत्येक वडा कार्यालय र स्वास्थ्य इकाईमार्फत सुरु गरेका छौ,’ उनले भने, ‘मास्क वितरण गरे पनि मुख्य अभियान भनेको कोरोनाबाट जोगिने उपाय बारे जानकारी गराउनु हो ।’
 

 


#मास्क

प्रतिकृया दिनुहोस