२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

युरोपका साथै जापान र अस्ट्रेलियामा पनि नयाँ प्रकारको कोरोना

एजेन्सी आइतबार १२, पुष २०७७ ०९:०९

युरोपका साथै जापान र अस्ट्रेलियामा पनि नयाँ प्रकारको कोरोना

पेरिस । युरोपका विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । युरोपेली संघअन्तर्गतका ८ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।   

डब्लूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगले आफूहरूले पछिल्लो अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको जनाए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए ।

कोरोनाको पुरानो भाइरसको तुलनामा नयाँले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको पनि क्लुगले जनाए । क्लुगले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरूलाई कडाइका साथ अवलम्बन गर्नुपर्ने बताए । ‘डब्लूएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,’ निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसको गुण, लक्षण, असरलगायतबारे अध्ययन भइरहेको र नतिजा आएर धेरै कुरा प्रस्ट भइसकेपछि मात्रै नयाँ रणनीति तय गर्न सकिने डब्लूएचओको भनाइ छ । नयाँ प्रकारको कोरोना बेलायतमा गत साता पहिलोपटक पुष्टि भएको थियो । त्यसलगत्तै बेलायतबाट अन्य देशहरूमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरूमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

नयाँ प्रकारको कोरोना देखिएका ८ देशको पहिचान भएको बताए पनि उनले देशहरूको नाम भने उल्लेख नगरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कतिपय देशले भने कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको उद्घोष गरिसकेका छन् ।

बेलायतसँग सीमा जोडिएको फ्रान्सले शनिबार त्यसको पुष्टि गरेको हो । फ्रान्सेली स्वास्थ्य मन्त्रालयले डिसेम्बर १९ मा बेलायतका राजधानी लन्डनबाट फ्रान्स आएका आफ्ना नागरिकमा त्यस्तो भाइरस देखिएको जनाएको हो । उनलाई डिसेम्बर २१ मा भाइरस पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कुनै लक्षण नदेखिएका उनले आफ्नै घरमा आराम गरिरहेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि सीमा बन्द गरेको फ्रान्सले बुधबार नागरिकलाई यात्रा गर्न खुला गरेको थियो । तर यात्रा गर्नुअघि भाइरस परीक्षणको नतिजा नेगेटिभ आउनुपर्ने जनाइएको थियो ।

त्यसैगरी, जापानले बेलायतबाट फर्केका ५ जना नागरिकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको शुक्रबार जनाएको थियो । त्यसका साथै डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्सले पनि नयाँ भाइरस देखिएको यसअघि नै पुष्टि गरिसकेका छन् ।

गतवर्षको अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले मार्चमा विश्वव्यापी महामारीका घोषणा गरेको थियो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभरि ७ करोड ९९ लाख ३४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

१७ लाख ५२ हजार ३ सय जनाको भाइरसका कारण मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड ८७ लाख जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ३ लाख ३० हजारभन्दा बढी छ ।

भाइरसका कारण प्रभावित हुने देशहरूको सूचीमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । विश्वविद्यालयका अनुसार भारतमा शनिबार साँझसम्म १ करोड १ लाख ७० हजार जनामा संक्रमण देखिइसकेको छ ।

त्यस्तै तेस्रो प्रभावित ब्राजिलमा संक्रमितको संख्या ७४ लाख ४८ हजारभन्दा बढी छ । भारतमा १ लाख ४७ हजार ३ सय तथा ब्राजिलमा १ लाख ९० हजार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।


#नयाँ प्रकारको कोरोना भाइरस #युरोप

प्रतिकृया दिनुहोस