२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

शैल्यशिखरमा सुत्केरीलाई 'उपमेयर कोसेली'

सोमबार ०३, चैत २०७६ ११:१४

शैल्यशिखरमा सुत्केरीलाई 'उपमेयर कोसेली'
सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गर्दै शैल्यशिखर नगरपालिकाकी उपप्रमुख राजमति पाल । तस्बिर : विशेष खबर

गोकुलेश्वर, दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाले ‘उपमेयर कोसेली’ कार्यक्रम संचालनमा ल्याएको छ ।

सुरक्षित मातृत्व तथा सुत्केरीको पोषण सुधारका लागि चालु आर्थिक वर्षबाटै यो कार्यक्रम संचालन गरेको हो ।

सुत्केरी आमामा पोषणको उपलब्धता तथा मातृशिशु मृत्यदर कम गर्नका साथै सुरक्षित मातृत्वका लागि पोषण र सरसफाई सचेतना अभिवृद्धिका लागि महिला लक्षित  कार्यक्रम अन्तर्गत ‘उपमेयर  कोसेली’ वितरण कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ  ।

सरकारले घोषणा गरेको आमासुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो योजना ल्याइएको शैल्यशिखर नगरपालिकाकी उपप्रमुख राजमति पालले बताइन् । कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलालाई उपप्रमुखकातर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट वितरण गरिएका छन् ।

कोसेलीमा पोषणतर्फ सुत्केरी महिलालाई प्रतिव्यक्ति एक क्रेट अण्डा, एक बोतल खाने तेल, एक पाकेट आयोडिनयुक्त नुन दिइदै आएको छ । सरसफाइ किटमा साबुन, तौलिया, बच्चाको कम्बल र झोला गरी सात प्रकारका सामग्री समावेश गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट महेशराज बिष्टले बताए । हालसम्म ५ वडामा संचालन गरिएको कार्यक्रमबाट वडा नम्बर २ र ३ मा ७५ जना, ५ र ६ मा ९० जना र ९ मा ५८ आमालाई कोसेली वितरण गरिएको बिष्टले बताए ।   

बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत यो कार्यक्रमका लागि नगरपालिकाले दश लाख विनियनेजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । उपप्रमुखकातर्फबाट सुत्केरीलाई पोषण तथा सरसफाइ सामग्रीसहितको झोला प्रदान गरिँदा आमाहरु हर्षित पाईएको उपप्रमुख पालको भनाई छ ।

महिलाका पीडा महसुस गरी नगरपालिकाबाट आमालाई सानो सहयोग कार्यक्रम संचालन गरिएको उपप्रमुख पालले बताइन् । कार्यक्रम प्रभावकारी भएकाले आगामी वर्ष थप सामग्रीसहित निरन्तरता दिन महिलाहरुको माग रहेको नगरपालिकाले जनाएको छ ।      


#स्थानीय तह

प्रतिकृया दिनुहोस