२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

प्रधानन्यायाधीश उपस्थित नहुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

- विशेष खबर बिहिबार ०२, पुष २०७७ ०४:५२

प्रधानन्यायाधीश उपस्थित नहुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडाैं । बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर, आजै बैठक बोलाइएको भन्दै नेकपाका नेताहरु आश्चर्य प्रकट गरेका थिए ।

स्रोतका अनुसार प्रधानन्यायाधीश पनि बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघि नै बैठकमा अनुपस्थित छन् ।

प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थितिमा मात्रै बैठक गर्नुपर्ने हुन्थ्यो । अध्यादेशअनुसार पनि बैठकले निर्णय गर्नलाई अध्यक्षसहित ३ जना आवश्यक हुन्छ ।

संवैधानिक परिषद्को बैठकमा सभामुख अनुपस्थित भएपछि त्यसैको प्रतिशोधका रूपमा ओलीले ८ महिनाअघि विवादित भएर फिर्ता गरेको अध्यादेश मंगलबार पुनः राष्ट्रपतिबाट जारी गराएका थिए ।

उक्त अध्यादेश फिर्ता हुनुपर्ने मागसहित बुधबार नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह संविधानअनुसार संसद्को विशेष अधिवेशन माग गर्दै सांसदहरूको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेपछि स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन ओली तयार भएका थिए ।

बुधबार निर्धारित समयभन्दा झन्डै चार घण्टा ढिलो सुरु भएको नेकपा स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।


#संवैधानिक परिषद्

प्रतिकृया दिनुहोस