२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

बीबीसी मास्टर सेफको टप ३ मा सन्तोष साह

- विशेष खबर बिहिबार ०२, पुष २०७७ ०९:३३

बीबीसी मास्टर सेफको टप ३ मा सन्तोष साह

लन्डन । आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । गरिबीले कलिलै उमेरमा काम नगरी हातमुख जोर्न सम्भव थिएन ।

काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले आफू सानो छँदा खुवाउने खाजा पस्किएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरुको मन जित्न सफल भएका छन् सन्तोष साह ।

उनी बुधबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा छनोट भएका हुन् । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमाका लागि पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार गरेका थिए ।

पकाएको खाना अतिथि सेफ र निर्णायकहरुलाई उनले बाल्यकालमा आमाले जस्तै टिफिन बक्समै सर्भ गरेका थिए । ‘म सानो छँदा धेरै दु:ख र गरिबी बाँचे,’ सन्तोषले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु ।’

त्यस्तै, प्रतियोगिताको महत्वपूर्ण सेसन ‘सेफ्स टेबल’ राउन्डमा उनले जिम्बुले मोलेर पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो करी सस, जस्ता परिकार पस्किए । सन्तोषको सिर्जनशीलता र उनले प्रयोग गरेका मसलाबाट निर्णायकहरु निकै प्रभावित भएका थिए ।

‘म आफूलाई ज्यादै भाग्यमानी ठानेको छु,’ टप थ्रीमा पुगेपछि सन्तोषले प्रतिक्रिया दिए, ‘विश्वसामु नेपाली खाना र संस्कृति चिनाउन पाउनु त्यो मेरो जीवनकै महत्वपूर्ण उपलब्धि हो ।’ शोमा भादगाउँले टोपी लगाउन अनुमति मागेपछि बीबीसीले यसबारे बुझेर सहमति जनाएको सन्तोषले बताए ।

बिहीबार तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच सुरु भएको थियो ।

इकान्तिपुर 


#‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’

प्रतिकृया दिनुहोस