- विशेष खबर बिहिबार १८, मङि्सर २०७७ ०८:४९
धनगढी । कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। गए राति गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु.प.प्र ०१००१ ज.१२५४ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन्।
दुर्घटनामा कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का बेहुला २१ वर्षिय गोबिन्द लुहार, दोगडा केदार गाउँपालिका वडा नम्बर ६ की बेहुली २० वर्षिया डम्मरा लुहार घाइते भएका छन्।
जिप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षिय वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
अरु घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षिय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षिय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी छन्।
यस्तै बेलौरी नगरपालिका ३ का १४ वर्षिय विशाल चौधरी, सोही ठाउँका २१ वर्षिय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी वर्ष २५ की राधा चौधरी घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै, बेहुली पक्षका बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ८ का १५ वर्षिय शेर लावड, दोगडा केदार गाउँपालिका ६ का ५० वर्षिय लक्षी लुहार र सोही ठाउँका २० वर्षका अर्जुन लुहार घाइते छन्।
घाइते १२ जनाको अतरियास्थित पदम अस्पताल उपचार भइरहेको छ। गम्भीर घाइते रहेका चालकको धनगढीको मायामेट्रो अस्पतालमा उपचार गरिएको छ।
दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस