२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बेलायतले दियाे फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, केही दिनमै खोप दिन सुरू गरिने

एजेन्सी बुधबार १७, मङि्सर २०७७ ०२:२५

बेलायतले दियाे फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, केही दिनमै खोप दिन सुरू गरिने

लन्डन । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ ।

फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिन सुरू गरिनेछ ।

बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो ।

बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस