२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

त्रिशूलीमा पिकअप भ्यान खस्याे, तिन जना बेपत्ता

- विशेष खबर बिहिबार ११, मङि्सर २०७७ ०९:०५

त्रिशूलीमा पिकअप भ्यान खस्याे, तिन जना बेपत्ता
बेपत्ताको खोजी गर्दै प्रहरी र सशस्त्र प्रहरीको टोली । तस्बिर सौजन्य : चितवन प्रहरी

चितवन । प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् ।

एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली नदीमा खसेको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार भ्यानमा रहेकामध्ये प्यूठानका मुकुन्दबहादुर रोक्का नदीबाट पौडी खेलेर बाहिर आएका छन् । चालकसहित अन्य तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुने चालकमा प्यूठान झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी रहेका छन् । नदीबाट बाहिर निस्केका मुकुन्दकी ३३ वर्षीया जमुना र १५ वर्षीया छोरी जिनिसा पनि बेपत्ता छन् ।

जिनिसा बिरामी भएका कारण उपचारका लागि काठमाडौं जाँदै गर्दा उक्त दुर्घटना भएको हो । पौडेर बाहिर आएका मुकुन्दको अवस्था मध्यम छ । 

घाइते मुकुन्दले पानीमा पौडिएर बाहिर आएको प्रहरीलाई जानकारी दिएका छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । पिकअप भ्यान पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी गर्न प्रहरी र सशस्त्र प्रहरी जुटेको डीएसपी थापाले बताए ।


#दुर्घटना

प्रतिकृया दिनुहोस