२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

'नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस'

सोमबार २६, असोज २०७७ ११:२६

'नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस'

सिड्नी (एजेन्सी) । अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् ।

सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन(सीएसआईआरओ) का अनुसन्धादाताले २० डिग्री सेल्सियस (६८ डिग्री फरेहनहाइट) तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका हुन् ।

प्लास्टिकका नोट, मोबाइलको स्क्रिनमा प्रयोग हुने सिसालगायतका नरम सतह हुने बस्तुमा भाइरस धेरै दिनसम्म सक्रिय हुने उक्त अध्ययनमा उल्लेख गरिएको छ । यस्ता सतहमा ‘इन्फ्लुएन्जा ए’ भाइरस भने १७ दिनसम्म बाँच्ने वैज्ञानिकहरु बताउँछन् ।

यसअघि सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बताइएको थियो ।

सीएसआईआरओको सोधमा कोभिड–१९ का बिरामीको नमुना संकलन गरी कृत्रिम सिँगान र विभिन्न सतहमा भाइरस राखी अध्ययन गरिएको थियो । प्रयोगशालामा २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा राखेर परीक्षण गर्दा तापक्रम बढ्दै जाँदा भाइरसको आयु पनि घट्दै गएको पाइएको थियो ।


प्रतिकृया दिनुहोस