सोमबार १९, असोज २०७७ ०९:३८
चितवन । सोमबार एकै दिन चितवनमा दुईवटा गैंडा मृत फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार सोमबार दिउँसो सौराहामा र बिहान नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको हो ।यी दुईसहित चालू आर्थिक वर्षमा चितवन निकुञ्जका सातवटा गैंडा मरेका छन् ।
नारायणी नदीले बगाउँदै गण्डक ब्यारेजबाट तल लगेको गैंडा मृत भेटिएको जानकारी भारत बाल्मिकी टाइगर रिजर्बका डिएफओ गौरव ओझालले आफूहरुलाई गराएको रामले बताए । मृत गैंडाको पोष्टमार्टम भारतीय वन अधिकारीहरुले नै गरेका छन् । खाग खुर जस्ता गैंडाको अंग भारतीय नीति अनुसार जलाएर नष्ट गरेको जानकारी आएको रामले बताए ।
त्यसैगरी दिउँसो तीन बजेतिर सौराहा बनकट्टा बनगछियामा एउटा १०/१२ वर्षको भाले गैंडा मृत फेला परेको छ । सूचना अधिकारी रामका अनुसार सो गैंडा जुधेर घाइते भएको अनुमान छ । नारायणी नदीमा बगेको एउटा गैंडा शनिबार त्रिवेणीमा मृत फेला परेका थियो ।
चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलो मिटर दक्षिणमा निकुञ्जभित्र मृत गैंडा फेला परेको थियो ।निकुञ्जभित्र गएको भदौ २१ गते पनि एउटा गैंडा मृत भेटिएको थियो ।
भदौ १६ गते गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोलीले पाँच दिनपछि बाँदरझुला टापुको घोलामा मृत गैंडा फेला पारेको थियो । त्यसको पनि खाग खुर सुरक्षित थियो । तर टाउकोमा गोलीको घाउ भए पनि गोली भने फेला परेको छैन ।
प्रतिकृया दिनुहोस