२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर,अक्सिजन सपाेर्टमा राखियो

आइतबार १८, असोज २०७७ ०१:५५

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर,अक्सिजन सपाेर्टमा राखियो

काठमाडौं । विगत २१ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डा. केसीको साथमा रहेका सहयोगीका अनुसार करिब एक घण्टा अघिदेखि उनलाई छातिमा निकै नै पीडा महसुस हुन थालेको छ ।

हाल डा. केसीका साथमा रहेकी सहयोगी डा.तोसिमा कार्कीका अनुसार छातिमा अत्याधिक पीडा महसुस गरेसँगै उनको शरिरमा अक्सिजनको मात्रा पनि घट्दै गएको । 'स्याचुरेसन (शरिरमा अक्सिजनको मात्रा) झर्न थालेपछि हामीले डा. सुवास आचार्यलाई बोलायौं । उहाँले हेरेर अहिले अक्सिजन दिन थालिएको छ,' उनले भनिन्, 'शरीरमा चाहिने इलेक्ट्रोलाईटहरुको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकोले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ ।'

उनको अनुसार डा‍. केसीले अक्सिजनको साहयताबाहेक अन्य कुनै औषधि नलिने बताएका छन् । डा.कार्कीका अनुसार डा. केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख प्राध्यापक डा.सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएका छन् ।

डा.केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका-६ को बाबिरा मष्ट मन्दिरबाट १९औं अनशन सुरु गरेका हुन् । तर स्वास्थ्यमा समस्या देखिँदा पनि सरकारले वास्था नै नगरेपछि उनी ८औं दिनमा जुम्ला छोडेर ९औं दिनमा काठमाडौं आइपुगेका थिए ।

हालसम्म उनको माग सम्बोधन गर्न वा उनीसँग वार्ता गर्न सरकारी पक्षले कुनै पनि चासो देखाएको छैन । 


#डा.गोविन्द केसी

प्रतिकृया दिनुहोस