बुधबार १४, असोज २०७७ ०४:२२
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-६ चिम्निटोलका २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न भनेर जंगल गएका भण्डारी बेपत्ता भएका थिए ।
सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको शवलाई घिसारे आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो ।
गाउँकै प्रविन श्रेष्ठ र अशोक थापासहित ४ जना घाँस काट्न जंगल गएका थिए । लमाह जंगलस्थित तुरतुरे धारा नजिक संगम अचानक हराएका थिए । त्यसपछि राति थापा र श्रेष्ठसहित १४/१५ जना गाउँले खोज्न गएका थिए । संगम हराएकै स्थानमा खोज्न गएको टोलीमाथि राति करिब ९ बजे बाघले अचानक आक्रमण गरेको थियो ।
संगमलाई फेला पार्न नसकेपछि बिहान नेपाल प्रहरी,सशस्त्र प्रहरी, सशस्त्र वनरक्षक, साझेदारी वनको टोली र स्थानीय गरी झण्डै एकसयको संख्यामा खोज्न जंगल गएको थियो ।
सुरक्षाकर्मी र गाउँलेको टोली होहल्ला गर्दै पिछा गरेपछि घटनास्थलबाट झण्डै एक किलोमिटर उत्तर लमाह खोला नजिक शव छाडेर बाघ भागेको थियो ।
प्रतिकृया दिनुहोस