२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

काराबाख क्षेत्रमा भीषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

सोमबार १२, असोज २०७७ ०२:४०

काराबाख क्षेत्रमा भीषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

बाकु (एजेन्सी) । आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् । 

आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ । 

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीहरुबीच जारी लडाईं रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ । 

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर संघर्ष हुँदै आएको छ । यस वर्षको सुरुमा र सन् २०१६ मा पनि लडाई भएको थियो ।

रक्षा मन्त्रालयले काराबाखमा सोमबार ३२ जना सैनिकको ज्यान गएको जनाएको छ । गोलाबारीमा परेर आर्मेनियाली क्षेत्रतर्फ सात जनाको एउटा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ । 

आर्मेनियाली रक्षा मन्त्रालयले पहिलो रात र सोमबार बिहान भारी लडाई जारी रहेको जनाएको छ । अजरबैजानी सेनाले आइतबार अखडा जमाएको क्षेत्रलाई पुनः फिर्ता लिएको मन्त्रालयले दाबी गरेको छ । तर अजरबैजानले लडाईंमा आफू अझ अघि बढेको जनाएको छ । 

रक्षा मन्त्रालयले भनेको छ, 'अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।'

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ । 

अजरबैजानले ५५० जना पृथकतावादी लडाकू मारिएको दाबी गरेको छ, तर आर्मेनियाले उक्त दाबीको खण्डन गरेको छ ।


प्रतिकृया दिनुहोस