२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

थप तीन काेराेना संक्रमितकाे मृत्यु

सोमबार २९, भदौ २०७७ ०९:३१

थप तीन काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । माेरङ, नवलपरासी र महाेत्तरीमा थप चार जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको हाे । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो । 

महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना संक्रमणले ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीकाे गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।


#काेराेना

प्रतिकृया दिनुहोस