२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

अब सबै प्रयाेगशालामा २ हजारमै पिसीआर परीक्षण हुने

- विशेष खबर आइतबार २८, भदौ २०७७ ०८:२४

अब सबै प्रयाेगशालामा २ हजारमै पिसीआर परीक्षण हुने
फाइल तस्बिर ।

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पिसीआर परीक्षण शुल्क रु २ हजार तोकेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु २ हजार तोकिएको जानकारी दिए । 

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए ।

बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको प्रवक्ता गाैतमले जानकारी दिए । 

यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु ४ हजार ४०० तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु ५ हजार ५०० शुल्क तोकेको थियो । 

नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना संक्रमित भएका छन् । हाल दैनिक करिब १० हजारको संख्यामा पिसीआर परीक्षण भइरहेको छ । 

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ । 

यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको प्रवक्ता गाैतमले बताए । 


प्रतिकृया दिनुहोस