२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

झारफूक गर्ने बहानामा बलात्कार

शुक्रबार २६, भदौ २०७७ ०७:४६

झारफूक गर्ने बहानामा बलात्कार

डोटी । झारफुक गर्ने बहानामा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

२० वर्षीया महिलाले दिएको उजुरीका आधारमा जोरायल गाउँपालिका–३ का ३१ वर्षीय टेकबहादुर ओली बुधबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार ती महिलाले उजुरीमा भदौ २ गते घटना भएको उल्लेख गरेकी छन् । उनी श्रीमानसँगै उजुरी दिन आएकी थिइन् ।

सन्तानको आसमा झारफुक गर्न ओलीकहाँ गएका बेला श्रीमानलाई जडीबुटी ल्याउन बाहिर पठाएको र त्यही बेला आफूलाई बलात्कार गरेको महिलाले बताएको प्रहरीले जनाएकाे छ । 

ओलीले भने उनीहरूकै अनुरोधमा झारफुक गरे पनि बलात्कार नगरेको बयान दिएका छन् । झारफुकका लागि हरेक मंगलबार ओलीकहाँ जाने गरेकोमा उक्त घटनापछि जान छाडेको महिलाले बताएकी छन् ।

उनले उजुरीमा उल्लेख गरेअनुसार भदौ २३ गते ओलीले उनलाई फोन गरेकाे, उनले फोन ‘अफ’ गरेपछि फेरि श्रीमानलाई फोन गरी अन्तिमपटक झारफुकका लागि आउन आग्रह गरे । श्रीमान्ले महिलालाई त्यसैअनुसार ओलीकहाँ जान भनेपछि उनले घटना बताइदिइन् । त्यसपछि दुवै जना प्रहरीमा गएका थिए ।  

बिहीबार नै इलाका प्रहरी कार्यालय जोरायलले भने दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय, डोटी पठाएको छ ।


प्रतिकृया दिनुहोस