२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

प्लाज्मा थेरापीकाे लागि रेडक्रसले रगत संकलन गर्ने

- विशेष खबर बिहिबार २५, भदौ २०७७ ०९:१४

प्लाज्मा थेरापीकाे लागि रेडक्रसले रगत संकलन गर्ने
फाइल तस्बिर ।

काठमाडाैं ।  नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस संक्रमितको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ ।

बुधबार केन्द्रीय कार्यालयमा कोरोना संक्रमणबाट निको भएका ३९ वर्षिय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि पहिलो रक्तदान गरेका छन् । 

आफूले पहिले कहिल्यै रक्तदान नगरेको तर निको भएपछि आफ्नो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गर्न आएको रानाभाटले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसंगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताए ।

रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता भएको छ । रेडक्रसका अध्यक्ष डा नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलनगरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेकाे रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ ।

 


#नेपाल रेडक्रस साेसाइटी

प्रतिकृया दिनुहोस