२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट

मङ्गलबार २३, भदौ २०७७ ०३:२४

स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो ।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ  ।

भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए । उनले भने, 'विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो ।'

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ । स्थानीयले आफूमाथि हातपात गरेपछि मंगलबार बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए । उनले भने, 'यसरी मलाई काम गर्न निकै असहज भएको छ । अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु । यसपछि के हुन्छ । त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु ।'

स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए । उनले भने, 'हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने तयारी गरेका थियौँ, तर स्वाब सङ्कलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ ।'

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको समेत माग गरिएको स्वास्थ्य चौकी प्रमुख साउँदले बताए।  प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जानकारी दिए ।  उनले भने, 'स्वास्थ्यकर्मी कुटपिट भएको भन्ने खबर पाएपछि संलग्न ती व्यक्तिलाई नियन्त्रमा लिन प्रहरी टोली गएको छ ।'

स्थानीय तहमा स्वाब सङ्कलन कार्य भइरहेको छ । अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । -रासस


#हातपात

प्रतिकृया दिनुहोस