२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

दसैंसम्म निषेधाज्ञा लगाउन ललितपुरका सीडीओको सुझाव

आइतबार २१, भदौ २०७७ ०७:५६

दसैंसम्म निषेधाज्ञा लगाउन ललितपुरका सीडीओको सुझाव

काठमाडौं । चाडपर्व र जात्रामा भीडभाड रोक्नका लागि दसैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन गरेको उपसमितिको बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टले दसैँमा मान्छेको आवतजावत बढ्दा कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा रहेकाले त्यस्तो कदम चाल्नुपर्ने बताएका हुन् ।

'तीजको बेला हामीले तत्काल आदेश जारी गरेका थियौं र व्यवस्थापन भएको थियो । सबै मानिसहरू घरघरमा रहनुभएको थियो । अब हाम्रो अगाडि चाडबाड आइरहेका छन् । दसैँजस्तो ठूलो चाड आएको छ,' तीजको बेलामा संक्रमण फैलिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख गर्दै भट्टले भने ।

'चाँडबाँड र रीतिरिवाजप्रति मान्छेहरूको अति ठूलो सेन्टिमेन्ट हुँदो रहेछ । त्यो अहिले हामीले अहिले बेरोहरिरहेका छौं,' रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारी भट्टले भने, 'जात्रा, संस्कृति, पर्व भनेपछि बरु ज्यान छाड्न पनि तयार हुर्ने मान्छेहरूको भावना हुँदो रहेछ । दसैँमा पनि यस्तो हुनसक्छ ।'

चाडबाडका नाममा धेरै भीडभाड हुने र मान्छेको आवतजावतलाई रोक्नका लागि अहिलेको निषेधाज्ञामा केही खुकुलो पारेर जानुपर्ने भट्टको सुझाव थियो । 'दसैँसम्म हामीले कुनै न कुनै रूपमा अलिकति खुकुलो बनाएर पनि निषेधाज्ञाको स्थिति कायम राख्नपर्छ जस्तो लाग्छ । होइन भने आम मान्छेहरू दसैँमा घर जाने भन्ने हुन्छ । कता जाने भन्ने हुन्छ । जमानादेखि गरिआएको ठूलाबडाबाट टीका थाप्नैपर्छ, जेसुकै भएपनि आशिर्वाद लिनैपर्छ भन्ने सेन्टिमेन्टमा झन् भयावह स्थिति हुनसक्छ,' उनले भने ।


#लकडाउन

प्रतिकृया दिनुहोस