२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कास्कीमा निषेधाज्ञा अबधि एक साता थपियाे

- विशेष खबर शनिबार २०, भदौ २०७७ १०:५६

कास्कीमा निषेधाज्ञा अबधि एक साता थपियाे
फाइल तस्बिर ।

पाेखरा ।  कोरोना भाइरसको संक्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ ।

कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गते सम्म निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो ।
    
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

मानिसले बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ बजे देखि साँझ ८ बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ ।

शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नुपर्नेछ ।

कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।


#पाेखरामा निषेधाज्ञा

प्रतिकृया दिनुहोस