- विशेष खबर बुधबार १७, भदौ २०७७ ०७:२१
काठमाडाैं। उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाएको हो ।
काठमाडौंका प्रजिअ जनकराज दाहालले यस पटकको निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको बताए । तर, मानिसको आउजाउमा भने कडाई गरिने उनले जानकारी दिए ।
उनका अनुसार अबको समयमा होटल/रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालन गर्न अनुमति दिइने छ ।
त्यस्तै अब बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न पनि दिइने छ । यसअघि त्यस्ता सेवाहरु बिहान ९ बजेर १५ मिनेटसम्म मात्रै संचालन गर्न पाइन्थ्यो ।
यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधनलाई उपत्यकामा प्रवेश गर्न दिइने छ । निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ ।
शिक्षा मन्तालायको प्रोटोकलअनुसार अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ ।
विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ ।
त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।
अब स्वाब परीक्षण गर्न दिएर होम क्वारेनटाइनमै बस्ने नियम कडाइसाथ लागू गरिएको दाहालले बताए।
स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने दाहालले बताए।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेपछि जारी निषेधाज्ञालाई निरन्तरता दिनुपरेको दाहालले बताए।
यसअघि सरोकारवाला सबै पक्षसँग छलफल गरेर प्रशासनले गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएको थियो।
गृहले राय अनुमोदन गरेपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा निर्णयमा सामेल भएका थिए।
प्रतिकृया दिनुहोस