२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी निलम्बित

मङ्गलबार १६, भदौ २०७७ ०३:५७

अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी  निलम्बित

काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् ।

गृह मन्त्रालयले इन्‍सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको हो ।

जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो । उनले उसै बेला हत्यामा आफ्नो संलग्नता नरहेको भनेका थिए ।

घटनाको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको आदेशमा गरुडा आएका इन्सपेक्टर सिंहसहित सादा पोसाकका प्रहरी हवल्दार फिरोजमिया धुनिया र अर्का हवल्दार मन्नुकुमार सिहले विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोपपछि उनीहरुलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरिएको हो ।


प्रतिकृया दिनुहोस