आइतबार १८, फागुन २०७६ ११:१७
वासिङ्टन (एजेन्सी)– कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।
राजधानी वासिड्टन डिसीको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताएका छन् । अमेरिकाले इरान यात्रामा रोक लगाइसकेको छ भने इटली र दक्षिण कोरिया नजान अपिलसमेत गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशमा कोरोना भाइरस फैलिने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८५ हजारभन्दा बढी मानिस संक्रमित छन् ।
प्रतिकृया दिनुहोस