२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

प्रणब मुखर्जीः शिक्षक,पत्रकार हुदै राष्ट्रपतिसम्म

- विशेष खबर सोमबार १५, भदौ २०७७ ०९:३४

प्रणब मुखर्जीः शिक्षक,पत्रकार हुदै राष्ट्रपतिसम्म

काठमाडाैं । भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ । 

विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य ८४ बर्षीय मुखर्जीलाई कोरोना संक्रमण पनि पुष्टि भएकाे थियो । अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनि केही दिनदेखि अचेत अवस्थामा थिए । भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उनको उपचार सफल नभएको मुखर्जीका छोराले जानकारी दिएका छन् ।

 उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक पटक उनि जिवितै भएको र उपचार भइरहेको स्पष्टीकरण दिनु परेको थियो । अन्ततः लामो राजनीतिक तथा सामाजिक संघर्ष गरेका मुखर्जीले सोमबार सधैँका लागि विश्राम लिए । 

भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भएपनि प्रधानमन्त्री हुन लपाएका नेताका रुपमा चिनिन्छन् मुखर्जी ।  

सन १९८४ र सन् २००४ मा उनि प्रधानमन्त्रीका लागि शसक्त दाबेदार देखिएका थिए । भारतीय कांग्रेस पार्टीकी तत्कालिन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफु प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहुदै पनि बन्न पाएनन्  । 

प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरेपनि उनकी छोरी तथा कांग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता कता अन्याय अनुभव गरेको बताउने गरेका थिए । 

उनि सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन यो असन्तुष्टि व्यक्त गर्नु अस्वभाविक नै भएकाले त्यत्तिकै दब्यो । त्यसलाई थप दवाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत बर्ष उनलाई भारत रत्न सम्मान प्रदान गरिएको थियो । 

सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी कांग्रेसका नेता थिए । 

युवा अवस्था देखि नै राजनीतिमा सम्लग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए । 

सन् १९६९ मा राज्यसभाको सदस्य बनेका मखर्जी त्यसपछि पार्टीबाट ६ वर्ष निलम्बन पनि भाेगेका थिए ।

त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे । भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए । 

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो । त्यही पृष्ठभुमिमा उनलाई अर्थमन्त्रालयको समेत जिम्मेबारी प्राप्त भयो । त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो । 

त्योभन्दा धेरै अगाडि उनि शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका थिए । उच्च शिक्षा पुरा गरेसंगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए । 

स्थानीय बङ्गाली भाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक समेत भएका थिए मुखर्जी । 

उनलाई भारतमा प्रधानमन्त्री बन्ने बाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो ।  

एजेन्सीकाे सहयोगमा   


#प्रणब मुखर्जी

प्रतिकृया दिनुहोस