- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ११:२३
जलेश्वर । काेराेना नियन्त्रणका लागि जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करी बढेको छ ।
चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक/पटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो ।
वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।
'हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ', डिभिजन प्रमुख साहले भने, 'तस्करले रुख कटान गर्ने र अवैधरुपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन् ।' यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ ।
यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो । यसअघि गतचैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ ।
लकडाउन र कर्फ्यु भित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध शिकार बढेपछि कार्यालयले गतचैतदेखि नै समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइरहेको कार्यालयले जनाएको छ ।
लकडाउन शुरु भएको गत चैत यता हालसम्म करिब ५०० क्यूविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ । यस्तै काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहित साधन नियन्त्रण लिइएको छ ।
यस अवधीमा १० जना पक्राउ परेका छन् । लकडाउन र कर्फ्युकाे अवधीभित्रै शिकारीको आक्रमणमा परी घाइते भएका १० वन्यजन्तु उद्धार गरिएका छ ।
प्रतिकृया दिनुहोस