२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

उपत्यकामा अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय

- विशेष खबर सोमबार ०८, भदौ २०७७ ०७:०३

उपत्यकामा अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय
फाइल तस्बिर ।

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको बताए ।

यस्तै फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय पनि गरेको हो।

यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो।

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए।

‘अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबैको एकपटक परीक्षण गर्ने निर्णय भएको छ’ उनले भने।

काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढ्दै गएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ४ गतेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी छ ।


प्रतिकृया दिनुहोस