२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

चियामा विष घोलेर खुवाइएको आशंका गरिएका रुसका विपक्षी नेता अस्पताल भर्ना

शुक्रबार ०५, भदौ २०७७ ०१:४६

चियामा विष घोलेर खुवाइएको आशंका गरिएका रुसका विपक्षी नेता अस्पताल भर्ना

एजेन्सी । रुस सरकारका कडा आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नी बेहोस भएपछि बिहीबार अस्पताल भर्ना गरिएको छ । शंकास्पद रूपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०११ मा नाभाल्नीले गठन गरेको भ्रष्टाचारविरुद्धको संयन्त्रका सञ्चार सचिव किरा यार्मयशका अनुसार बिहान टम्सकबाट विमानमा मस्को फर्किरहेका बेलादेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

‘नाभाल्नीले उडानकै बेलामा अप्ठ्यारो महसुस गर्नुभएको थियो । ओम्स्कमा विमान आकस्मिक अवतरण गरेलगत्तै उहाँलाई अस्पताल पुर्‍याइएको हो,’ यार्मयसले भनिन् ।  ट्वीटरमा उनले ‘नाभाल्नीलाई विषाक्त खानेकुराका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको’ उल्लेख गरेकी छन् ।

यार्मयसले नाभाल्नीले पिएको चियामा केही विषाक्त पदार्थ घोलिएको हुन सक्ने शंका व्यक्त गरिन् । रुसी सञ्चारमाध्यमका अनुसार नाभाल्नीको स्वास्थ्य अवस्था गम्भीर छ र उनको आईसीयू मा उपचार भइरहेको छ ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनाव असंवैधानिक भएको भन्दै उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

रुसी राष्ट्रपति कार्यालयले नाभाल्नीको स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तै, बेलायती विदेशमन्त्री डोमिनिक राबले घटनाप्रति ‘गहिरो चासो’ व्यक्त गर्दै नाभाल्नीको स्वास्थ्यलाभको कामना गरेका बीबीसीले जनाएको छ ।


#रुस

प्रतिकृया दिनुहोस