शुक्रबार ०५, भदौ २०७७ ०७:१८
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
आजका दिन व्रत बसे शिव–पार्वतीको पूजा उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । कोरोना संक्रमणकाे जोखिमका कारण याे वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । मन्दिरहरु बन्द गरिएका कारण घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
सौभाग्यको कामना, सन्तान प्राप्ति, सल वर प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रत बस्ने गरिएकाे धर्मशास्त्रीहरुको मत छ ।
अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
प्रतिकृया दिनुहोस