२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सुदूरपश्चिममा भाेलि यसरी मनाइन्छ ‘ओल्के’

आइतबार ३२, साउन २०७७ १२:२३

सुदूरपश्चिममा भाेलि यसरी मनाइन्छ ‘ओल्के’

कैलाली । सुदूरपश्चिममा ‘ओल्के’ पर्वको चहलपहल सुरू भएकाे छ । भाद्र संक्रान्तिका दिन मनाइने ओल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।

जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका चोकचोक तथा पसलमा स्थानीयको भीडभाड देखिन्छ । विभिन्न थरीका पकवान पकाउनका लागि सामग्री किनमेल गर्न महिलालाई भ्याइनभ्याइ भएको छ ।

कोरोना संक्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने ग्राहकको पुरानो स्थितिको झै उत्तिकै चाप देखिन्छ ।

याे पर्वले चाँडपर्वकाे सिजन सुरू भएकाे संकेत पनि गर्छ । 

लगत्तै यहाँ गाैरा पर्वकाे तयारी भइरहेकाे छ । भाद्र १० गते परेकाे गाैरामा काेराेना संक्रमणका कारण भीडभाड नगरेर परिवारमै मनाउन स्थानीय प्रशासनले सूचना समेत गरेकाे छ ।  

गाउँघरतिर टोल–टोलमा स्थानीय कुटानी पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन् । घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुनेलगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ । 

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताए ।  

'गाउँ घरतिर जसका घरमा गाई भैंसीको दुध, दही, मही हुँदैन त्यस घरमा दुध, दही, महीलगायत बाड्ने चलन छ ।” जोशीले भने, “जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस’ अर्थात ‘सितन’ भनिन्छ ।'

विषेशगरी यस पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाई पुरी, सेल, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायत मिठाेमसिनाे स्थानीय परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउँनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीय अगुवाको भनाइ छ ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहेपनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे त्यति खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताउँछन् । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । 


#सुदूरपश्चिम

प्रतिकृया दिनुहोस