बुधबार २८, साउन २०७७ ०२:१८
काठमाडाैं । कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।
तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव मंगलबार हेटौडाको सिस्नेरी क्षेत्रमा भेटिएको प्रहरीले जनाएकाे छ ।
तनुहँ स्थायी घर भएका बानियाँ तीन दिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाडाैंमा बुधबार उजुरी दिएको थियो । बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ ।
उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
केही समय नागरिक दैनिकमा समेत काम गरेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस