२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बूढीगंगाले पुल बगाउँदा गाउँकाे सम्पर्क टुट्याे

बुधबार २८, साउन २०७७ ०६:३४

बूढीगंगाले पुल बगाउँदा गाउँकाे सम्पर्क टुट्याे

बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ ।

बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल  बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो ।  नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ र  हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन ।  कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए ।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् ।  हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र  एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले  तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने पीडितको माग छ ।

गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइकिएको र उद्धारका लागि पहल भइरहेको बताए । 

बालिका मृत फेला
 त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सातमहिने छोरी रितु  मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् ।


#बाढी

प्रतिकृया दिनुहोस