२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

सीमा नाका भदौ ३१ सम्म बन्द, भारतबाट आउन १० नाकामात्रै खुला

मङ्गलबार २७, साउन २०७७ ०८:५४

सीमा नाका भदौ ३१ सम्म बन्द, भारतबाट आउन १० नाकामात्रै खुला

काठमाडाैं ।  मुलुकभर कोरोना संक्रमण बढेसंगै सरकारले कडा निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले भारतबाट आउनेका लागि १० नाका तोकेको छ । यसअघि साउन मसान्तसम्म गरेको सीमा बन्दलाई भदौ ३१ सम्म थपेको छ । 

खुला सीमा भएका कारण भारतबाट नेपाल छिर्नेको भीड बढेपछि यसअघिका २० प्रवेश नाकाबाट घटाएर १० प्रवेश नाका ताेकेकाे हो ।  

नेपाल भित्रिनेका लागि झापाको काकडभिट्टा, मोरङ्गको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको वेलहिया, कपिलवस्तुको कृष्णनगर, बांकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्न पाउने ब्यवस्था गरेको हो । 

अब सीमा प्रवेश गर्नेको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राखेर मात्र घर जान पाउने व्यवस्था गरिएको छ । प्रवेश अनुमति दिएका नाका भएका जिल्लामा सम्बन्धित प्रदेश सरकारको समन्वय र नेपाली सेनाको सहयोगमा क्वारेन्टाइनको व्यवस्था गर्ने ब्यवस्था गरिएको छ । 

सीमावर्ती क्षेत्रमा संक्रमण फैलिइरहेकाले नेपाल प्रवेश गर्न तोकिएका नाकाबाहेक अन्यत्रबाट आवतजावत, किनमेल र कामदार ल्याउन नदिने व्यवस्था गर्न सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले मिलाउने भनिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लाभित्र आवतजावत गर्नेबाहेक दुई सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट अन्य जिल्लामा जान स्थानीय प्रशासनको अनुमति आवश्यक हुने निर्णय पनि गरेको छ ।

यससंगै सरकारले फुटपाथ, खुल्ला ठाउ, ठेला र साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडालगायतका व्यवसाय र  कवाडी सङ्कलनजस्ता कामलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय गरेको छ ।


#कोरोना महामारी

प्रतिकृया दिनुहोस